Thursday, February 12, 2009

“मित्रताको आकाश” मा प्रवेश गर्दा – डा. गोविन्द आचार्य



============================================

“मित्रताको आकाश” मा प्रवेश गर्दा
– डा. गोविन्द आचार्य

मातृका पोखरेलको जीवनीतर्फ म कुनै चर्चा गर्दिनँ । किनभने उनी नेपाली कविता फाँटका सशक्त प्रतिभा भएको कुरा दिनको घाम जस्तै छर्लङ्ग छ । मैले उनका फुटकर कविताहरू कार्यक्रममा सुन्थे, पत्रपत्रिकामा पढ्थे तर सङ्ग्रह मैले पढेको छैन तर “मित्रताको आकाश” कविता सङ्ग्रह पढ्दा विगतलाई छोएर हेर्दा आफूलाई धेरै फरक पाएँ । २६ वटा कविता एउटै छानामुनि, एउटै प्रगतिवादी भावभूमिको केन्द्रियतामा रहेर मेलमिलापका साथ अनेक प्रस्तुति गरिरहेका छन् ।

कविता छोटो आकारका छन् । पाठकले बुझ्न सहज रूपमा सक्दछन् । गम्भीर किसिमका पाठकलाई गम्भीर भावको प्रस्तुति, सिकारुलाई सहज हुने यस कविता सङ्ग्रहको विशेषता हो । कविताहरू व्यङ्ग्य रसमा बिम्बको लौरो समाएर वैचारिक भावभूमिको केन्द्रियतामा रहेर लेखिएका छन् ।

कविताको भाव यसरी खाँदिएको छ, जसलाई फुकाइयो भने एउटा विशाल लेख बन्छ । मेरो विचारमा यस सङ्ग्रहका कविता सुन्तलाका केस्रा हुन । एउटा दाना सुन्तलामा कोही केस्रा गुलिया र कोही केस्रा अमिला हुँदैनन । यसमा अमिला केस्राहरू छैनन्, बरु केस्राहरू ठुलासाना हुन सक्छन् । तर साना भए पनि अमिला छैनन् । बिम्बको प्रयोग अत्यधिक गरिएको छ । ब्यङ्ग सियो बनेर देखा पर्छ । कविताहरू करिब लक्ष्यण शक्तिको नजिक पुगेका छन् । यी कविताले बताउने अर्थ लक्षित छ । यहाँ जनताको भावना बोल्छ, कतै राजनीतिको बैमानी खेल पनि चर्चा गरिएको पाइन्छ । 

 प्रगतिवादी कविहरू राजनीति निश्चित रूपमा गर्छन् । उनीहरूको उद्देश्य पनि राजनीति नै हो । राजननीतिका माध्यमबाट नै समाज परिवर्तन हुन्छ । मान्छेले मान्छेलाई शोषण गर्ने, कुनै पनि प्रकारको प्रथा, कुनै पनि नाममा रहनु हुन्न भन्ने कविको मान्यता छ । तर कविहरू कलामा दर्शन घोल्छन्, विचारसँग आनन्दले बोल्छन्, कला र विचारको प्रगाढ सम्बन्ध छ भन्ने विषयलाई प्रगतिवादीहरू भुल्दैनन् । यस सङ्ग्रहमा पनि यस्तै विधि अपनाइएको छ । यसको जादुगरिता के हो भने भाव र विचारलाई मिलाएर हतासोले खाँदी खाँदी कलात्मक राम्रो गुन्दो बुन्नु हो । 

यहाँ कविले,

उद्वेलित  आगोका लप्काहरूको
चेतना बोकेर
हामी बारम्बार
विद्रोहको एउटा जुलुस निकालिरहेका छौँ
तर प्रत्येक दिन
मक्किएको सन्धिको ठुटोमा बास बसेर
निरन्तर हाम्रो अभियानलाई टोकिरहन्छन्
दिल्लीका मच्छरहरू । 
(दिल्लीका मच्छरहरू, पृ. ४६)

यी र यस्ता पङ्क्तिहरू यस कविता सङ्ग्रहमा प्रशस्त छन् । यस्तै गहकिला पङ्क्तिले नै यो सङ्ग्रहलाई वजनदार बनाएको छ । यो कविको कुशलता हो । कलाले विचारलाई सफासँग नुहाइदिएको स्थिति हो । कला र विचार दुवैमा खाक्सी लगाइएको चिल्लोपन हो । अब भनुन् कि प्रगतिवादी नारा कसरी हुन्छ ? हो, हामी नारा लेख्छौँ । नारामा तारा हुन्छ । त्यही ताराले संसार परिवर्तन गर्छ । यस्तै विचारमा आधारित भएर रहेर यो कविता सङ्ग्रहको सिर्जना भएको छ । 

यहाँ के छैन ? इतिहास, भुगोल, राजनीति, दर्शन । त्यसको पूर्ण रूपले व्याख्या नगरे पनि स्वादिलो अचार पाउँदा जिब्रो पक्कै पनि पड्किएको छ । यस सङ्ग्रहमा सङ्ग्रहित कविताहरूमध्ये कतिपय कविताहरू राजनीतिको रसमा नुहाएका छन् । तर यी कविताहरू अत्यन्त कलात्मक छन् । जस्तै–

उसको र मेरोबिच
ओदाने तह झँै ढाकिएको छ
भविष्यको बादल 

यहाँ वर्गचेतनाको रूप बिम्बको माध्यबाट प्रस्तुत गरिएको छ । यस प्रकारका कविता लेख्ने कविले नारा लेख्छन् भनेर कसरी भन्न सकिन्छ ?

प्रश्नहरूका वाढी
पानीको बाढीभन्दा शक्तिशाली हुन्छ

कति सुन्दर पङ्क्ति छ ? गम्भीर भावको प्रस्तुती छ ? अनन्त गहिराइका वस्तु तान्ने, भित्रको भावनामा पुग्न लुकेका भावलाई बाहिर प्रकट गर्ने नदेखिएका कुरा देखाइने माध्यम नै प्रश्न हो । 
लेखाइको शैली नदीको बिम्बमा आएको छ । उपमा र उपमेयको सन्तुलन मिलेको छ । पाठकलाई चित्त बुझ्छ । 

मैले उनीहरूलाई आफन्त ठानेर भनेको थिएँ
मान्छेलाई देवता बनाउनु
कहिलेकाहीँ आफ्नै खुट्टामा बञ्चरो हाल्नु हो 

यी र यस्ता पङ्क्तिहरू यस सङ्ग्रहमा छन् । अर्को अर्थमा भन्ने हो भने मान्छेले मान्छेलाई देवता बनाउने चलन मान्छेले मान्छेलाई अधिनमा पार्नका लागि किन राख्नु पर्यो ? यस्ता स्वाङ सुन्दर पङ्क्तिमा सुन्दर व्यङ्ग्य, खदिलो विचार छोटो प्रस्तुतिमा देखिएको यथार्थ सहज बोध हुन सक्ने यस्ता विशेषताहरू यस कविताको विशेषता बनेको छ । 

मेरा साथीलाई
देवता बनाउन पनि हतार
देवता फुटाउन पनि हतार
यात्रा गर्न पनि हतार
पछुताउन पनि हतार 

मैले यस्ता पङ्क्तिहरूबारे व्याख्या गरिरहनु पर्दैन । आफैले बनाएको देवता मान्छे जे पनि गर्न सक्छ । अरू कोही आएर बनाइदिएको देवता होइन । तसर्थ फुटाउन, जुटाउन जे पनि गर्न सक्छ । देवताप्रतिको विश्वास यथार्थ रूपमा हटाउन यो कविता ज्यादै सफल छ । 

उनलाई राम्रैसँग थाहा छ 
सत्ता हिँड्ने राजमार्ग 
र आफू हिड्ने गोरेटो
कहिले भेट नहुने विपरस्त दिशामा छन् 

यसको दार्शानिक पक्ष, भावपक्ष, यथार्थ पक्ष यी तीनवटा पक्षलाई सन्तुलन मिलाउँदा मानिस कुन स्थितिमा छ ? के प्राप्त गर्न हिडिरहेको छ ? यस्ताले ग¥यो के नै ? आखिर राजनीति सत्ताप्राप्तिका लागि नै हो । तर भयो के ? यथास्थितिवादी विचारमा फर्किनु पर्छ भने गरिएको सङ्घर्ष निष्फल हुनु बाहेक के नै रह्यो र ?

मलाई अब सबै थाहा छ
तिनीहरूले कहाँ कहाँबाट स्विच दबाइरहेका छन्
छिनौला औलाहरू चलाएर
वासिङटन, लन्डन वा दिल्ली 

हाम्रो देशमा चलिरहेको जनआन्दोलनलाई रोक्नका लागि वा विश्व परिवेशलाई खतरा पार्नका लागि राम्राज्यवादीहरू हतियारको धम्की देखाएर समयलाई त्रासद बनाइरहेकै छन् । तर सम्झौता गर्नेहरू डराएको मनस्थितिमा रहेको सङ्केत लाक्षणिक रूपबाट गरिएको छ ।

कुरूप सम्भावनाका सिँढीहरू
लगातार चढिरहेका छन् शासकहरू
उनीहरूले आफ्नी आमालाई बेचेको खबर
कुनै दिन विदेशी समाचार पत्रहरूले छाप्ने छन्

प्रतिक्रियावादी सत्ताका शासकहरूले के गर्ने, के नगर्ने नराम्रा काम पनि सबै गरिरहेको वस्तुस्थिति कसैबाट छिप्दैन । यसका साथै घुमाउरो रूपबाट तिनीहरूको नीतिमा फाप्ने सुधारवादका नक्कली मयुरहरूको गति पनि यस्तै हुन्छ ।

उनीहरूले मलाई विस्तारी विस्तारै उत्तरतिर देखाउँदै
दक्षिणतिर डौडाउन खोजे
विचार स्खलनको एउटा त्रासद अध्याय
यो पनि लेख्दै बाँकी छ

संशोधनवादीहरू क्रान्तिको मुकुण्डो ओढेर क्रमशः सारशक्तिलाई प्रतिक्रियावादीहरूको नीतिमा फसाउँछन् । हाम्रो देशमा भएको स्थिति पनि यस्तै हो । हिजो उत्तरतिर देखाउँदै आज दक्षिणतिरको आसमा विस्तारवादको काखमा लम्पसार पर्नु क्रान्तिको निरन्तरता नभएर वैचारिक विचलन गरी हारेको मनस्थिति प्रकट गर्नु हो । यथार्थ पनि यस्तै देखिएको छ ।

वरिपरि गनाइरहेका छन् फोहरहरू
मित्रता गास्न खोजिरहेका छन्

हाम्रो भनाइ छ, पसिनो बोक्यो काँधै गन्हानउने, यो हरेक तह, हरेक चिन्तनमा लागु हुन्छ र भएको प नि यस्तै छ । इतिहासमा यस्ता विडम्बनाहरू देखिएका छन् । दह«ो विश्वास र आस्थालाई फोहोरी मित्रताले नोक्सान गर्छ भन्ने विचार औधी सुन्दर रूपबाट प्रकट गरिएको छ ।

हिजोआज मैले हेर्ने ऐनामा
अर्कै मान्छेको अनुहार देखिन्छ

यहाँ कविलाई क्रान्तिका छद्मभेषीहरू देखेर आफू कतै अन्यौलमा परेको त होइन ? कतै मेरो विचारको समाप्तिको दिशा त होइन भन्ने भावले सताइरहेको छ ।

तिम्रो बजारबाट किनेको चस्माबाट
यस्तै देखियो
गुण्डागर्दी र राजनीति
उस्तै उस्तै देखियो
दलाली र निष्ठा
समाजसेवा र व्यापार
केही केही फरक देखिएन

कति वास्तविक छ स्थिति ? यहाँ पनि व्यापार । व्यापारले हरेक मनस्थितिमा किल्ला जमायो । हेराइमा पनि व्यापार, यहाँ पनि बिजनेसका महलहरू ठडिएका छन् । यहाँसम्म कि प्रकृतिले दिएको एक झोक्का हावामा पनि पैसा । कति घिनलाग्दो प्रथाको विकास ?

सूर्यलाई बोकेर हिँड्नेहरू
सूर्यलाई पुर्न खाडल खन्दै छन्

जसले हिजो सूर्यलाई बोकेर हिँडे, त्यहाँभित्रका कोही दृष्टि भएका मान्छेहरू छन् भने तिनले बुझ्नु पर्ने आवश्यकता छ, हामी कहाँ गयौँ ? किन हो यो सूर्य बोकेको ? कहाँ पुग्ने उद्देश्य थियो ? हाम्रो सूर्य कसले खोस्यो ? विचारणीय प्रश्न कविले उभ्याएका छन् ।

हिँडिरहेको बाटो छाडेपछि
हराउँदो रहेछ
मान्छेको अनुहारमा चमक

वर्तमान अवस्थामा धेरै मानिसको मनस्थिति खलबलिएको छ । अन्यौलता छाएको छ । एकातिर जान हिँडेको यात्रा अनन्त भासमा पुगेर कहाँ टुङ्गिने हो ? हल्लैहल्लाको आँधीले कुन ठाउँमा लगेर फाल्ने हो ? यस्ता अन्यौलता यस कविताले राम्ररी बताएको छ ।

बुढो माकुरो र नरेश शाक्य
यो महानगरको एउटा छिँडीमा
अचेल सँगसँगै बस्छन्

नरेश शाक्य ज्युँदा सहिद हुन् । बुढो माकुरो आफ्नै सन्तानले खाइसकेको बृद्ध भएको पुरानोको बिम्ब प्रकट गर्ने एक सानो जीव हो । तर यसले वहन गरेको अर्थ बुझ्ने हो भने यो कविता नै सियो हो । यसले घोचेर ककसका मुटु प्वाल पार्छ ? यो भन्न सकिन्न ।

यसरी यस कविता सङ्ग्रहमा भएका विभिन्न पङ्क्तिहरू उदृधृत गरियो । यहाँबाट के पुष्टि हुन्छ भने कवि व्यङ्ग्य प्रहार गर्न अति सिपालु छन् । छोटो आकारमा विशाल भाव प्रकट गर्ने कविको सामथ्र्यलाई स्वीकार गर्नै पर्छ । मैले यस सङ्ग्रहमा पढ्दा कतै चोटखोट छ कि भनेर हेरेँ । यस सङ्ग्रहका कुनै भाइ दुखी छन् कि भनेर हेरेँ । तर यहाँ सम्पन्न देख्छु । प्रगतिवादी चिन्तनबाट हेर्दा सङ्ग्रह नेपाली कविताको फाँटमा राम्ररी झुलेको धानको बाला हो । सहज खोजे सहजता र गम्भीर खोजे गम्भीरता—यो परिपक्व कविको दीर्घ साधनाको परिणाम हो ।

यसरी २६ वटा कविता २६ वटा विषयवस्तु प्रगतिवादी भावभूमिबाट क्रान्तिको बाटो देखाउँदै समापन र विश्वको यथार्थ चिन्तन गर्दै सामाजमा देखा परेका विकृति, विसङ्गतिलाई क्रान्तिको पक्षबाट सशक्त व्यङ्ग्य प्रयोग गरेर कलाको उच्चतम रूप प्रयोग गरेर निर्भिकतापूर्वक लेख्नु कविको विशेषता बनेको छ । विचार र भाव द्वन्द्वमय छन् । पङ्क्तिहरू खँदिला छन् । कतिपय पङ्क्तिहरू बिम्बको चापमा परेर अलि उठ्न नसकेका हुन् कि ? सर्वसाधारण पाठकलाई बुझ्न कठिन हुने हो कि ? यस्ता समस्या देखा पर्दछन् । तैपनि नेपाली प्रगतिवादी कवितामा एउटा ओजिलो कृति थपिएको छ भन्नमा हिच्किचाउनु पर्दैन ।

ooo

साभार : युगदर्शन साप्ताहिक, वर्ष-११, अङ्क -१, पूर्णाङ्क- १३ 
[२०७६ साल भाद्र १८ गते बुधवार] बाट ।   

No comments:

Post a Comment