Sunday, January 3, 2021

सरकारी कविता महोत्सवमा सधैं किचलो

 

पुरस्कार थाप्न अदालतसम्म मुद्दा





२७ मंसिर, २०७७ काठमाडौं । तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह आफैं कुलपति बनेर विसं. २०१३ सालमा गठित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्ने सरकारी संस्था हो । गणतन्त्र स्थापनाछि कला, साहित्यको विकासका लागि तीनवटा प्रज्ञा प्रतिष्ठान गठन भए पनि नेपाली साहित्यको क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानले नै काम गर्दै आएको छ ।

‘राष्ट्रिय कविता महोत्सव’ प्रतिष्ठानको बहुचर्चित वार्षिक कार्यक्रम हो । २०२२ सालदेखि हुँदै आएको महोत्सवको २०७७ संस्करण यही मंसिर २९ गते हुँदैछ । प्रत्येक वर्ष असार ९ गते हुने महोत्सव यो वर्ष कोरोना महामारीका कारण ढिलो हुन लागेको हो ।

पाँच दशकभन्दा बढीको इतिहास बोकेको कविता महोत्सव, विगत एक दशकदेखि प्रत्येकपल्ट विवादमा तानिने गरेको छ । कतिपय विवाद त अदालती प्रक्रियामै गएर टुंगिएका छन् । झट्ट सुन्दा अनौठो लागे पनि कविताको विषयलाई लिएर जिल्ला तथा पुनरावेदन अदालतमा मुद्दा पुगेको घटना महोत्सवकै कारण सृजना भएको हो ।

२०७२ सालको कविता महोत्सवका प्रथम कवि प्रोल्लास सिन्धुलीयलाई  सहभागी कविता प्रकाशित भइसकेको भन्दै पुरस्कार दिइएन । त्यतिबेला पनि महाभूकम्पका कारण असारको कार्यक्रम सरेको थियो ।

सिन्धुलीय भन्छन्, ‘असार ९ भन्दा अगाडि मात्रै कविता छाप्न नपाइने प्रावधान थियो । मैले असार ९ पछि छापेको हुँ । यसैले अन्याय भएको महसुस गरेर न्यायालय गुहारें ।’

२०७५ सालको कविता महोत्सवका विजेता प्रोल्लास सिन्धुलीय (वायाँ)लगायत राष्ट्रपति विद्यादेवी भण्डारीसँग

अन्ततः चार वर्षपछि प्रतिष्ठानले मुद्दा हार्यो । हारेपछि प्रतिष्ठानले सिन्धुलीयलाई बोलाएर २०७६ मा राष्ट्रपतिको हातबाट पुरस्कार प्रदान गर्यो । यतिञ्जेल धेरै हैरानी खेपिसकेका सिन्धुलीयले सृजनात्मक अस्तित्वका लागि लामो संघर्ष गरे ।

अहिलेका चर्चित कवि एवं प्रज्ञा प्रतिष्ठानमा पूर्वप्राज्ञ श्रवण मुकारुङलाई पनि २०५३ सालको राष्ट्रिय कविता महोत्सवको पुरस्कार अहिलेसम्म दिइएको छैन ।

श्रवणको प्रथम भएको कविता तत्कालीन गरिमा मासिकमा प्रकाशित भइसकेको भन्दै प्रतिष्ठानले अहिलेसम्म पुरस्कार दिएको छैन । श्रवण पनि अहिले कविता महोत्सवको औचित्य क्षीण बन्दै गएको टिप्पणी गर्छन् ।

मुकारुङ भन्छन्, ‘राज्यले कविताका लागि भनेर महोत्सव गरे पनि पछिल्ला वर्षमा यसप्रति युवा वर्गको चासो घटेको छ । यसैले बदलिँदो परिवेशमा कविता महोत्सवको औचित्य कम हुँदैछ ।’

यस्तै सरिता तिवारी पनि कविता महोत्सवले कविताको क्षेत्रमा अनावश्यक विवाद सृजना गरेको बताउँछिन् । तिवारीका अनुसार प्रथम, द्वितीय र तृतीयमध्ये एक महिला हुनैपर्ने तथा जनजाति पुरस्कृत हुनैपर्ने कुराले धेरै विभाजन ल्याएको छ ।

यस्तै समीक्षक गुरुङ सुशान्त पनि प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव राष्ट्रवादको छायामा परेको बताउँछन् । गुरुङका अनुसार स्वायत्त संस्था भनिए पनि प्रज्ञा प्रतिष्ठानहरूमा राज्यको बजेट र संरक्षणको प्रभाव परिरहेको हुन्छ । यसैले कविता महोत्सव राज्यको विचारको छाया पर्छ ।

तिवारी प्रश्न गर्छिन्, ‘के कुनै महोत्सवमा एकजना मात्र महिला पुरस्कृत हुनुपर्ने हो ? सबैजना महिला मात्रै वा राम्रो सृजना भएका पुरुषमात्रै पुरस्कृत हुन पाउँदैनन् ?’

कविता विधामा निरन्तर समीक्षा गर्दै आएका गुरुङ भन्छन्, ‘प्रज्ञा प्रतिष्ठानमा  स्वतन्त्र विचार बोकेका विद्रोही कविता कहिल्यै पुरस्कृत हुँदैन । त्यहाँ बालबालिकाले मेरो देश प्यारो छ भनेर लेखिने औसत कवितामात्र पुरस्कृत गरिन्छ ।’

पछिल्लो दश वर्षमा कविता महोत्सवको निर्णायकको निर्णय चित्त नबुझेर धेरै विवाद आएका छन् । यसबाहेक निर्णायकले आफूले चिनेजानेको मानिसलाई मात्र पुरस्कृत गर्ने आरोप लाग्दै आएको छ

कवि केशव सिलवाल पनि राष्ट्रिय कविता महोत्सवको प्रभाव घटेकाले फरक शैलीमा कविताको कार्यक्रम गर्नुपर्ने मत राख्छन् । उनका अनुसार प्रज्ञा प्रतिष्ठानले ‘एन्टी–करेन्ट’ धारका कवितालाई सम्बोधन गर्न सकेको छैन ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वआख्यान विभाग प्रमुख रहेका मातृका पोखरेल पनि गुरुङको कुरामा सहमति जनाउँछन् । पोखरेल भन्छन्, ‘महोत्सव हटाएर प्रदेश स्तरीय कविता कार्यक्रम, गोष्ठी र तालिम गर्दा फलदायी हुन्छ भनेर आवाज उठाएका थियौं ।’

पोखरेलले आफ्नो कार्यकालमा कविता महोत्सव हटाउन खोजेको प्रष्ट्याए । तर, संस्थापन पक्षमा समर्थन गर्ने प्रज्ञा प्रतिष्ठानको नेतृत्वले यो कुरा नसुनेको पोखरेलको तीतो अनुभव छ । पोखरेलको कार्यकालमा डा. अमर गिरी काव्य विभाग प्रमुख थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति डा. गंगाप्रसाद उप्रेती भने कविता महोत्सवको लामो विरासत रहेकाले यसले युवा प्रतिभालाई कविका रुपमा स्थापित गर्ने बताउँछन् । बजारमा हल्ला चलेजस्तो प्रतियोगितामा सौदाबाजी नभएको उप्रेती दाबी गर्छन् ।

कुलपति उप्रेती महोत्सव बन्द गर्न नहुने पक्षमा रहेका छन्  । यद्यपि, उनी नै प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा रहेको एक दशकदेखि भएका अधिकांश कविता महोत्सवमा तीव्र विवाद आएका छन् ।

के–के हुन् विवाद ?

पछिल्लो दश वर्षमा कविता महोत्सवको निर्णायकको निर्णय चित्त नबुझेर धेरै विवाद आएका छन् । यसबाहेक निर्णायकले आफूले चिनेजानेको मानिसलाई मात्र पुरस्कृत गर्ने आरोप लाग्दै आएको छ ।

‘जो कवि कविता महोत्सबको निर्णायकको पाउमा पर्छ, ऊमात्र प्रथम हुने गरेको पीडा मसँग छ’, नाम नबताउने शर्तमा एक कविले अनलाइनखबरलाई खुलाइन् । उनले कविता महोत्सवका निर्णायकले महिलाका कवितालाई निकै विभेद गर्ने गरेको बताइन् । उनका अनुसार जो महिला कविता निर्णायकहरूको निकट भइरहन सक्छन् उनीहरू नै पुरस्कृत भएका उदाहरण छन् ।

यसबाहेक प्रकाशित भइसकेका कविता लुकाएर प्रथम बनाउने, जातीय तथा क्षेत्रीय आधारमा पुरस्कृत गर्ने र कतिपय अवस्थामा नगद प्रलोभनमा समेत परेर कविता महोत्सवको निर्णय गर्ने आरोप लागेको छ ।

महोत्सवमा काठमाडौं नै बसेर प्रभावशाली मिडियामा काम गर्ने पत्रकार, साहित्यिक संस्था खोलेर बसेकाहरू र प्राज्ञसँग दोस्ती भएकाहरु नै कविता महोत्सवमा पुरस्कृत हुने गरेको देखिन्छ ।

लामो समय प्रज्ञा प्रतिष्ठानका कविता महोत्सवमा निर्णायक रहेका प्राध्यापक अभी सुवेदी निर्णायकहरूको कमजोरीलाई नै विवादको प्रमुख कारक मान्छन् । यद्यपि, सुवेदीले कविता महोत्सवको निर्णायक नबनेको तीस वर्षभन्दा बढी भइसकेको छ ।

सुवेदी भन्छन्, ‘हामीले पुरस्कृत गरेका कविहरू आज जनस्तरबाट समेत लोकप्रिय कवि सिद्ध भइसकेका छन् । यसैले निर्णायकले दीर्घकालीन प्रभाव ख्याल गरेर विजेता घोषणा गर्नुपर्छ ।’

प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष असार ९ गते आयोजना गर्ने ‘राष्ट्रिय कविता महोत्सव’मा देशैभरिका नेपाली भाषामा लेखिएका कविताले भाग लिन पाउँछन् ।

२०२२ सालदेखि सुरु भएको प्रतियोगितामा विजेता कविहरूले आकर्षक नगद पुरस्कार तथा राष्ट्र प्रमुखबाट सम्मान पाउँछन् । अहिले प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० र तृतीयलाई २० हजार नगद दिइने गरिन्छ ।

महोत्सवको प्रथम संस्करणमा भैरव अर्याल प्रथम भएका थिए । अहिलेका चर्चित कविहरू कालीप्रसाद रिजाल, रमेश क्षितिज, नवराज लम्साल, दिनेश अधिकारी, बुद्धिसागर, सरुभक्त पनि राष्ट्रिय कविता महोत्सवमा प्रथम भइसकेका छन् ।

कविता विभाग प्रमुख भन्छन्– हावाको भरमा कुरा गरेर हुँदैन

कविता महोत्सवसँग प्रत्यक्ष संलग्न हुने निकाय नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभाग हो । उक्त काव्य विभागको प्रमुख नै कविता महोत्सवको हर्ताकर्ता व्यक्ति मानिन्छन् ।

अहिले प्राध्यापक डा. हेमनाथ पौडेल काव्य विभाग प्रमुख छन् । यो उनको नेतृत्वमा भएको दोस्रो वर्षको कविता महोत्सव हो ।  डा. पौडेलसँग हामीले कविता महोत्सवमा आउने निरन्तरको विवाद र प्रतिष्ठानमाथिका आरोपबारे प्रश्न सोधेका छौं :

डा. हेमनाथ पौडेल, काव्य विभाग प्रमुख

कविता महोत्सव सधैं किन विवादमा तानिन्छ ?

यहाँ म आएको दुई वर्ष भयो, यसभन्दा अघि के भयो म भन्न सक्दिनँ । अहिले कविता महोत्सवमा विवाद छैन । महोत्सवमाथिका कुरा बजारमा प्रोल्लास सिन्धुलीय वा अर्को कुनै एकजनाले भनेर हुँदैन । पछिल्लो समय खुल्ला समाजको प्रभाव भएकाले विवाद त हुन्छ नै । हावाको भरमा नचाहिने कुरा गरेर हुँदैन । पुष्टि गर्नुपर्यो !

विवाद आउने यस्तो कविता महोत्सव बन्द गर्न मिल्दैन ?

इतिहास बोकेको कार्यक्रम किन बन्द गर्ने ? विरोधीले विरोध गरे भनेर बन्द गर्ने कुरा आउँदैन । आज नाम चलेका दर्जनौं कविहरू हिजो यही महोत्सवबाट पुरस्कृत भएका हुन् । यसैले यो वर्ष हामीले कविता महोत्सव विशेषांक किताब नै निकाल्न लागेका  छौं । त्यहाँ कविता महोत्सवको सबै इतिहाससहित विजेता कविहको कविताहरू समावेश गरेका छौं ।

महोत्सवमा कविताको मूल्यांकनचाहिँ कसरी गरिन्छ ?

एकेडेमीले विज्ञ कमिटी बनाएको हुन्छ । त्यहाँ रहेका तीनजना  निर्णायकबाट आएको नम्बर जोडेर कविताको मूल्यांकन गरिन्छ । निर्णायकलाई दिइने कवितामा कविको नाम हुँदैन, हस्तलिपी हुँदैन ।  हामीले कविताको अन्तरवस्तु, रुप, भाव,  विचारजस्ता सैद्धान्तिक पक्ष हरेर मूल्यांकन गर्छौं ।

हिजो राजाका पालामा कविताको शीर्षक दिएर लेख्न लगाइन्थ्यो । अहिले त्यस्तो बन्धन छैन । अहिले त वाचनको पनि १० नम्बर राख्ने गरेका छौं । पहिला यसरी बहुआयामिक ढंगमा मूल्यांकन  गरिँदैनथ्यो । हामीले अहिले भने वैज्ञानिक पक्षबाट मूल्यांकन गर्न खोजेका छौं ।

महोत्सवमा कविता पुरस्कृत हुन त्यसले राष्ट्रवादको पक्षपोषण गरेको हुनैपर्ने हो ? फरक विचारका कविताले यहाँ स्थान पाउँदैन ?

यो सरासर गलत कुरा हो । हामीलाई प्राप्त हुने कवितामा कुनै जाति भाषा, संस्कृति, लिंग, समुदायलाई आक्षेप लागेको हुनु हुँदैन । यो राज्यको संस्था भएकाले यी कुरा बर्जित छ । कुनै भूगोल, जाति, समुदाय हेरेर कविताको मूल्यांकन हुँदैन । प्रतिष्ठानले छन्द वा गद्य पनि हेर्दैन । कवित्व पक्ष के छ भन्नेमात्र हेर्छ ।

महोत्सवको सट्टा बृहत् कवि गोष्ठी, तालिम, कवितास्रंग्रह प्रकाशन गर्न मिल्दैन ?

हाम्रो देशमा कविको संख्या नै ५० हजारभन्दा बढी पुगिसक्यो । सबैको कृति छाप्न त सकिँदैन । यहाँ त अध्ययन–अनुसन्धान भएका कृति छापिन्छन् । रचनाका संकलनहरू छापिन्छन् । अहिले पनि प्रादेशिक साहित्यको इतिहास, कविताको इतिहास लेखाइराखेका छौं ।

www.onlinekhabar.com बाट साभार 

No comments:

Post a Comment